मंगलबार ३ असार २०८२
खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपरओभरमा पराजित

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि  तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ।

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो।  नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। 

१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए।  

त्यसपछि सूपरओभर भयो।  सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो।  जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो।

अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो।  जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो।

अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो।

जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो। 

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो।  नेपालले आज स्कटल्याण्डसँग दोस्रो खेल खेल्दैछ।

तपाईको प्रतिक्रिया