मंगलबार ३ असार २०८२
राजनीति

२८ हजार विद्यालय खोलिए पनि १७ हजार बन्द हुने अवस्थामा: सांसद चन्द्र भण्डारी

शनिबार जेठ ३१, २०८२/ Saturday 06-14-25

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा प्रणालीमा देखिएको समस्याको मूल जरा विगतको नेतृत्वको कमजोरी भएको बताएका छन्। उनले पुर्खाहरूको प्रयासमा मुलुकभर २८ हजार विद्यालय खोलिए पनि आजको दिनमा तीमध्ये १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको उल्लेख गरे।

शनिबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा क्षेत्रमा समयमै ऐन र कानुन नबनाउनु अहिले देखिएको संकटको मुख्य कारण भएको स्पष्ट पारे।

भण्डारीले भने, “नेपालमा शिक्षा क्षेत्रमा समस्या देखिनुमा विगतको नेतृत्व दोषी छ। जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन। शिक्षकले सेवा सुविधाका कुरा गरे, तर हामीले कस्ता विद्यार्थी उत्पादन गर्ने भन्नेमा कहिल्यै गम्भीर छलफल गरेनौँ।”

उनका अनुसार सरकारी विद्यालयप्रति जनविश्वास कमजोर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। शिक्षा प्रणाली बलियो नभएसम्म देशको समुचित विकास सम्भव नहुने तर्क गर्दै उनले राज्यले आफ्ना कमी कमजोरी स्वीकार गरेर शिक्षा सुधारतर्फ गम्भीरता देखाउनुपर्नेमा जोड दिए।

भण्डारीले अबको शिक्षा विधेयक यथार्थ धरातलमा आधारित भएर तयार हुनुपर्ने सुझाव दिए। साथसाथै उनले शिक्षकका सेवा सुविधासँगै उनीहरूको कर्तव्यबोध र उत्तरदायित्वबारे स्पष्ट नीति आवश्यक रहेको औंल्याए।

 

तपाईको प्रतिक्रिया