मंगलबार ३ असार २०८२
समाज

बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा रिहा

सोमबार असार २, २०८२/ Monday 06-16-25

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

वन ऐन अनुसार जिल्ला अदालत सर्लाहीमा उनीविरूद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दाका लागि मेयर थापा आइतबार अदालतमा उपस्थित भएका हुन्।

थुनछेक भएर उनलाई ५० लाख धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए। उनका अनुसार थापाले उक्त धरौटी बुझाएर छुटिसकेका छन्।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापा आइतबार नै अदालतमा हाजिर भएका थिए ।

उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ । थापासँगै बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाले हाल उनी निलम्बित छन् ।

तपाईको प्रतिक्रिया