महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा व्यापक प्रदर्शन, म्याक्रोंको राजीनामा माग
काठमाडौं । बढ्दो महँगी, शिक्षा क्षेत्रको खस्किँदो अवस्था र सार्वजनिक सेवाको गुणस्तरमा आएको गिरावटप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा व्यापक विरोध प्रदर्शन भएको छ । राजधानी पेरिससहित विभिन्न प्रमुख सहरमा लाखौँ नागरिक सडकमा उत्रिएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र सरकारका नीतिविरुद्ध सुरु भएको प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । प्रदर्शनकारीले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै राष्ट्रपति म्याक्रोंको राजीनामासमेत माग गरेका छन् ।
फ्रान्सको प्रमुख श्रमिक संगठन सीजीटीका अनुसार देशभर करिब पाँच लाख नागरिक विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा विशेषगरी युवा, विद्यार्थी, श्रमिक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
राजधानी पेरिससँगै मार्से, टुलोन र ल्योनलगायतका प्रमुख सहरमा प्रदर्शन उग्र बनेपछि जनजीवन प्रभावित भएको छ । प्रदर्शनका क्रममा विभिन्न स्थानमा सवारीसाधन, पसल, सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी भएको विवरण सार्वजनिक भएका छन् ।
कतिपय स्थानमा निजी सम्पत्ति तथा ऐतिहासिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् भने सयौँलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्सको सुरक्षा व्यवस्था र राजनीतिक स्थायित्वमाथि समेत प्रश्न उठ्न थालेको छ । सार्वजनिक सेवा सुधार, महँगी नियन्त्रण र नागरिकका आधारभूत आवश्यकताप्रति सरकार जिम्मेवार बन्नुपर्ने प्रदर्शनकारीको माग छ ।
यसैबीच राष्ट्रपति म्याक्रोंले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिने बताएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारको सम्मान गरिने भए पनि सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने गतिविधि स्वीकार्य नहुने सरकारको अडान छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पनि हिंसात्मक गतिविधिबाट सरकार नडराउने प्रतिक्रिया दिएका छन् । उनले प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा उग्र वामपन्थी समूह तथा आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाएका छन् ।
सरकारविरुद्ध बढ्दो जनअसन्तुष्टि र सडक आन्दोलनले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ । महँगी नियन्त्रण, सार्वजनिक सेवामा सुधार र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि सम्बोधन गर्न सरकारमाथि दबाब बढ्दै गएको छ ।
तपाईको प्रतिक्रिया