आइतबार १ कार्तिक २०८३
समाज

चाडपर्वमा चोरी, ठगी र लुटपाटबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

आइतबार कार्तिक १, २०८३/ Sunday 10-18-26

पोखरा । बडादसैँलगायतका चाडपर्वमा चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भन्दै गण्डकी प्रदेश प्रहरीले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक घटना न्यूनीकरण गर्न सार्वजनिक अपिल जारी गर्दै सुरक्षित र जिम्मेवार ढङ्गले चाडपर्व मनाउन अनुरोध गरेको हो ।

‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले चाडपर्वको समयमा व्यक्तिगत सुरक्षा, घरपरिवारको संरक्षण तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई सचेत गराएको छ ।

प्रहरीका अनुसार चाडपर्वमा घर छाडेर आफन्तकहाँ जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा मानिसको भीडभाड बढ्ने भएकाले चोरी, पाकेटमारी र ठगीका घटना हुन सक्ने जोखिम रहन्छ ।

यस्ता घटनाबाट जोगिन घरबाहिर निस्कँदा झ्यालढोका राम्ररी बन्द गर्न, छिमेकीलाई घरको निगरानी गर्न अनुरोध गर्न तथा सम्भव भएसम्म घर र टोलमा सीसीटीभी क्यामेरा र आपत्कालीन साइरनजस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिइएको छ ।

त्यस्तै, रातको समयमा घरबाहिर बत्ती बाल्न र सुत्नुअघि झ्यालढोका सुरक्षित रूपमा बन्द भएनभएको सुनिश्चित गर्न प्रहरीले आग्रह गरेको छ ।

मेलापर्व, बजार तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल फोन र नगद रकमको विशेष ख्याल गर्न तथा पाकेटमारीबाट जोगिन सचेत रहन अनुरोध गरिएको छ ।

आगलागीका घटना हुन नदिन दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत असुरक्षित अवस्थामा नछाड्न पनि प्रहरीले सुझाव दिएको छ ।

बैंकिङ कारोबार र अनलाइन ठगीबाट जोगिन आग्रह

प्रहरीले चाडपर्वका समयमा आर्थिक ठगीका घटना हुन सक्ने भन्दै बैंकको चेक, एटीएम कार्ड, व्यक्तिगत विवरण तथा एकपटक प्रयोग हुने गोप्य सङ्केत (ओटीपी) अरूलाई उपलब्ध नगराउन आग्रह गरेको छ ।

यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न, उनीहरूले दिएको खानेकुरा नखान तथा सुन र अमेरिकी डलर साट्ने प्रलोभनमा परेर ठगीको सिकार नहुन सचेत गराइएको छ ।

त्यसैगरी, चाडपर्वको बहानामा जुवा तथा तास खेल्ने वा खेलाउनेजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाए कारबाही

चाडपर्वका समयमा सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन प्रहरीले विशेष आग्रह गरेको छ ।

सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु तथा मालसामान नबोक्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगले मानवीय, भौतिक तथा वातावरणीय क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सचेत गराइएको छ ।

ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा ध्वनिविस्तारक यन्त्र नबजाउन, मादक पदार्थ सेवन गरेर होहल्ला तथा झैझगडा नगर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन पनि प्रहरीले आग्रह गरेको छ ।

चन्दा, भेटी वा सहयोगका नाममा कसैलाई इच्छाविपरीत रकम दिन बाध्य नबनाउनसमेत प्रहरीले सचेत गराएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन नागरिकको सहयोग अपरिहार्य रहेको जनाएको छ ।

कुनै शङ्कास्पद गतिविधि देखिएमा, आपराधिक घटना भएमा वा आपत्कालीन अवस्थामा तत्काल नेपाल प्रहरीको निःशुल्क नम्बर १०० तथा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया