बुधबार २० जेठ २०८३
राजनीति

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

बुधबार जेठ २०, २०८३/ Wednesday 06-03-26

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा पार्टीका शीर्ष नेताहरूसँग राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरेका छन्। उनले भाजपाका अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग भेट गरेका हुन्।

त्यसैगरी, लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित सहकार्यलाई विस्तार गर्नु हो। साथै संगठन निर्माण, सुशासन, जनसम्पर्क र नयाँ पुस्ताको नेतृत्व विकाससम्बन्धी अनुभव आदानप्रदान पनि भएको बताइएको छ।

भाजपाको निमन्त्रणामा भारत पुगेको टोलीमा सभापति लामिछानेसहित सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहभागी छन्। भ्रमण टोली जेठ २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

तपाईको प्रतिक्रिया