सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं। सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
त्यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न २ बजे बस्नेछ। बैठकमा मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यको मनोनयन तथा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सरकारले जारी गरेका सार्वजनिक खरिद, संवैधानिक परिषद् तथा सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेशसहित आठ अध्यादेश संसद्मा पेस गरिनेछ।
तपाईको प्रतिक्रिया