रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि सुनुवाइ भइरहेको उक्त मुद्दा मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
बुधबार काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्वका कारण सार्वजनिक बिदा परेकाले हिजो बहस हुन सकेन। आज बहस सकिएमा मुद्दामा फैसला आउने सम्भावना रहेको बताइएको छ।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
तपाईको प्रतिक्रिया