बिहीबार ५ चैत २०८२
राजनीति

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई आज प्रमाणपत्र वितरण गर्ने भएको छ ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार आज बिहान साढे ११ बजे आयोग परिसरमै निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

राजनीतिक दलहरूले छनोट गरी पठाएका उम्मेदवारहरूको विवरण आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेकपा (एकीकृत समाजवादी)ले नौ सिट, श्रम संस्कृति पार्टीले चार सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट प्राप्त गरेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने व्यवस्था रहेको छ ।

समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूरा हुने आयोगले जनाएको छ । सबै सांसदहरूको सपथग्रहण कार्यक्रम भने चैत १२ गतेका लागि तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया