संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने भएका छन् । राप्रपाको संसदीय दलको बैठकले हिजो (असार १ गते)को बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।
राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र लेखेर असार १ गतेको बैठक भत्ता उपलब्ध नगराउन आग्रह गरेको छ । राप्रपाले असार १ गते प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो ।
प्रमुख सचेतक शाहीले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’
उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिन निर्णय गरेको शाहीले जानकारी दिए । त्यस अनुसार उनले संसद सचिवालयलाई पत्र लेखेका हुन् ।
तपाईको प्रतिक्रिया