पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सोडारीले सार्वजनिक पदमा रहँदा वैधानिक आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको हो।
अख्तियारका अनुसार, माघ ७ गते २०७४ देखि फागुन १० गते २०७९ सम्मको अवधिमा सोडारीले ८५ लाख ५१ हजार ३ सय रुपैयाँ वैध आम्दानी गरेका थिए। तर सोही अवधिमा उनले १ करोड ९३ लाख ८९ हजार ६ सय रुपैयाँ खर्च, लगानी र बचत गरेको देखिएको छ। यसरी वैध आम्दानीभन्दा १ करोड ८ लाख ३८ हजार रुपैयाँ बढी सम्पत्ति रहेको पुष्टि भएपछि मुद्दा अघि बढाइएको हो।
सोडारी २०७४ मा कैलाली क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री (२०७४ माघ–२०७५ कात्तिक) र भौतिक पूर्वाधार विकासमन्त्री (२०७८ जेठ–२०७९ मङ्सिर) का रूपमा जिम्मेवारीमा थिए।
अख्तियारका अनुसार, सोडारीले आर्जन गरेको केही सम्पत्ति आफ्नी श्रीमती र छोराको नाममा राखेकाले उनीहरूलाई पनि जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
तपाईको प्रतिक्रिया