आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रित गरेको छु: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू बजेटमा आएका टिप्पणीमा सन्तुष्ट रहेको बताएका छन्।
बजेट सार्वजनिक भएपछि शुक्रबार पत्रकारहरूसँग गरिएको छलफलमा अर्थमन्त्री पौडेलले आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गरेको समेत बताएका छन्।
उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए । उनले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाइएको जानकारी दिए। उनले राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने दाबी गरे ।
उनले भने– ‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएको छ ।विकास आयोजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएको छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’
अर्थमन्त्री पौडेलले सरकारले तीन करोडको मापदण्डलाई कार्यान्वयन गर्ने काम गरेको बताए । विकासका असीमित आकाङ्क्षा, सीमित स्रोत र बजेट पनि सीमित सीमामा बसेर ल्याउनुपर्ने भएकाले ३ करोडको मापदण्डलाई कार्यान्वयन गरी बजेट ल्याएको उनको भनाई थियो ।
उनले २५ करोड भन्दा बढीका आयोजना अनुगमन र प्रभावकारी आयोजनाको लागि राष्ट्रिय विकास बोर्डको प्रबन्ध गरिएको बताए । उनले अनुदानको लागतको अधिकतम सीमा निर्धारण गर्न बजेटले ५० प्रतिशतको सीमा निर्धारण गरेको पनि बताए ।
अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे । उनले वन क्षेत्रको जग्गा उपभोगका विषयलाई सहजीकरण भएको भन्दै वनको कारणले आयोजनाहरू अवरुद्ध हुने अवस्था नहुने गरी बजेटले व्यवस्था गरिएको बताए । उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउने गरी बजेट आएको दाबी समेत गरे ।
तपाईको प्रतिक्रिया