पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप

काठमाडौं । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई)ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको जनाएको छ ।
भारतीय सेनाको एडीजी पीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सेयर गर्दै लेखिएको छ, “पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा पूरै पश्चिमी सीमामा ड्रोन र अरू हतियारहरू प्रयोग गरेर कैयौँ आक्रमण गर्यो । पाकिस्तानी सैनिकले जम्मू र कश्मीरमा नियन्त्रण रेखामा धेरैपटक युद्धविरामको पनि उल्लंघन गरे ।”
पाकिस्तानका रक्षामन्त्रीले ती हमलामा आफूहरू जिम्मेवार नभएको बताए ।
‘हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ,’ रक्षामन्त्री खवाजा आसिफले भने । ‘हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ ।’
बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए । त्यतिखेर त्यहाँ बिजुली थिएन । यसअघि भारतले बिहीवार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ ।
इस्लामाबादले बुधवार राति भारतका सैन्य स्थलमा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ । बुधवार आफ्ना क्षेत्रमा भारतले क्षेप्यास्त्र प्रहार गरेपछि दिल्लीले थप आक्रमणकारी कार्य गरेको पाकिस्तानले भनेको छ ।
तपाईको प्रतिक्रिया