
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको उल्लेख गरे ।
"मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ । त्यो प्रसंग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने इमाजिनेसनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो," उनले भने, "तर, त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो, सम्भव छ । सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा सीप र क्षमता दियो भने त्यो सम्भव छ ।"
महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा लाखौँ कमाउने सपना पूरा हुने बताए । विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे । ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत उनको जिकिर थियो ।
तपाईको प्रतिक्रिया