शनिबार ३१ असोज २०८३
समाज

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सेनाको सलामी

शनिबार असोज ३१, २०८३/ Saturday 10-17-26

काठमाडौं । नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। शनिबार अपराह्न आयोजित समारोहमा सेनाले विभिन्न सैनिक कला तथा परम्परागत बढाइँ प्रस्तुत गरेको हो।

समारोहमा नेपाली सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रदर्शन गरेको थियो। त्यसैगरी सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सैनिक ब्याण्डले राष्ट्रिय धुन प्रस्तुत गरेको थियो। साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ तथा मार्चपाससहितका सैनिक प्रदर्शन गरिएको थियो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी भएका थिए। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।

त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नेपाली सेनाले बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी फूलपाती बढाइँ गर्दै आएको छ। यस समारोहलाई दसैँको प्रमुख सांस्कृतिक तथा सैनिक परम्परामध्ये एकका रूपमा लिइन्छ।

 

तपाईको प्रतिक्रिया