प्रधानमन्त्री बालेनको दसैँ सन्देशः ‘रित्तिँदै गएका गाउँघरको नियति बदलौँ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशमा सुशासन र समृद्धि कायम गर्दै नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले आर्थिक अभावका कारण चाडपर्व नागरिकका लागि बोझ बन्न नहुने बताएका हुन् ।
दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्नुका साथै पारिवारिक आत्मीयता, आपसी सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
विगतमा भूकम्प, महामारी र राजनीतिक तनावका बाबजुद नेपालीले आफ्नो परम्परा र संस्कृति जोगाउँदै आएको स्मरण गर्दै प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका प्राकृतिक विपत्तिको पीडाबीच दसैँ मनाउनुपरेको उल्लेख गरेका छन् ।
विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्रभावित तथा विस्थापित नागरिकको उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् ।
रोजगारीका लागि विदेशिन बाध्य भएका र चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाएका नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले रित्तिँदै गएका गाउँघर र परदेशमा परिवारबाट टाढा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै देशभित्रै रोजगारी र समृद्धिको अवसर सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । सरकारले देशको समृद्धि र नागरिकको सुखद जीवनयापनलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले मानिसभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता विकृतिमाथि विजय प्राप्त गर्न माता दुर्गा भवानीले सबैलाई प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।
तपाईको प्रतिक्रिया