विश्वकप लिग–२ : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज क्यानडासँग भिड्दै
ओमान । आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको अङ्क तालिकामा शीर्ष छभित्र आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ। क्यानडाका लागि पनि शीर्ष छमा पर्ने सम्भावना कायम राख्न यो खेल महत्त्वपूर्ण छ।
प्रतियोगिताको अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीसहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलबाट ११ जित, १९ हार र पाँच बराबरीसहित २७ अङ्क प्राप्त गरेको छ।
यस शृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराएको थियो। उक्त लयलाई निरन्तरता दिँदै क्यानडाविरुद्ध अर्को जित निकाल्ने नेपालको लक्ष्य छ।
क्यानडाले भने अघिल्लो हारको बदला लिने प्रयास गर्नेछ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो। उक्त खेलमा क्यानडाले पहिले ब्याटिङ गर्दै २५६ रन बनाएको थियो।
नेपालले जारी शृङ्खलामा क्यानडाविरुद्ध २३५ र ओमानविरुद्ध २६३ रन बनाएको छ। दुवै खेलमा पहिले ब्याटिङ गरेको नेपालले जित निकालेकाले आजको खेलमा पनि ब्याटिङ र बलिङ दुवै पक्षको प्रदर्शन निर्णायक हुन सक्नेछ।
नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्।
आजको खेल जितेमा नेपालले एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुनिश्चित गर्नेछ। तर पराजित भएमा अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दबाब नेपालमाथि रहनेछ।
तपाईको प्रतिक्रिया