शनिबार ३१ असोज २०८३
समाज

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै

शनिबार असोज ३१, २०८३/ Saturday 10-17-26

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल सप्तमीका दिन दसैँघर तथा पूजा कोठामा कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।

धार्मिक मान्यताअनुसार कालरात्रि देवीले भय, सङ्कट र नकारात्मक शक्तिको नाश गरी भक्तजनको रक्षा गर्छिन्। काललाई समेत नष्ट गर्न सक्ने शक्तिस्वरूप भएकाले यस देवीलाई कालरात्रि भनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। कालरात्रि देवीको वर्ण कृष्ण र स्वरूप भयङ्कर रहेको वर्णन विभिन्न पुराणमा पाइन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौँको जमरा राखेर देवी दुर्गाको पूजा आराधना सुरु गरिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो। सातौँ दिन आज कालरात्रि देवीको आराधना गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको श्रद्धापूर्वक आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा गर्छन्।

नवरात्रको आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ।

नवरात्रको सातौँ दिन फूलपाती भित्र्याउने परम्परासमेत रहेको छ। वैदिक विधिअनुसार आज अपराह्न फूलपाती भित्र्याएर दसैँघरमा स्थापना गरिन्छ।

नवरात्रमा नौ दिनसम्म गरिएको पूजाआराधनापछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले बडादसैँलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ १५ दिनसम्म मनाउने गर्छन्।

 

तपाईको प्रतिक्रिया