काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जना रहेका छन्।
फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना अझै बेपत्ता छन्।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।
तपाईको प्रतिक्रिया