नवलपरासी पश्चिम। नारायणी नदीमा हालसम्म फेला परेका १७० शवमध्ये चार जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्त तथा परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
कार्यालयका अनुसार ६८ शवको डीएनए नमुना सङ्कलन गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। अझै ९८ शवको पहिचान तथा व्यवस्थापन गर्न बाँकी रहेको छ। सुनवल नगरपालिका क्षेत्रमा रहेको एक सामुदायिक वनमा शव व्यवस्थापन गरिएको जनाइएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनस्थलको निरीक्षण गर्दै पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा तथा मृतकका आफन्तसँग भइरहेको समन्वय र सहजीकरणबारे जानकारी लिएका छन्।
सनाखत भएका चार जनामा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन्।
यसैबीच, रसुवामा फेला परेको अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव पहिचान भएपछि आफन्तले पोखराबाट बुझेर लगेका छन्। पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पनि रसुवामै फेला परी पहिचान भएको र आफन्तले बुझेर अन्त्येष्टि गरेको जनाइएको छ।
त्यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ।
बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको थियो। उनका दाजु सुग्रीव थारूले सनाखत गरी शव बुझेका छन्। सोही स्थानमा फेला परेको कोहलपुर–११ कै २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालीराम थारूले सनाखत गरी बुझेका छन्।
तपाईको प्रतिक्रिया