बुधबार १७ भदौ २०८३
समाज

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

काठमाडौं। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

विशेष प्रस्तावमार्फत सभामुख अर्यालले बाढीमा परी ठूलो संख्यामा नागरिक बेपत्ता हुनुका साथै भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।

संसद् सचिवालयले सार्वजनिक गरेको प्रस्तावमा भदौ १० गते बुधबार आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

बाढीका कारण स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता हुनुका साथै धेरै जनाको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको भन्दै प्रतिनिधिसभाले दुःख व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ।

त्यस्तै, घटनाबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने प्रस्तावमा जनाइएको छ।

 

तपाईको प्रतिक्रिया