सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विशेषगरी बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका लागि सरकारले गरिरहेका कामबारे उनीहरूबीच कुराकानी भएको हो।
त्यसैगरी, विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने र बाढीका कारण क्षति भएका भौतिक संरचनाको पुनःस्थापना गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक राहत सामग्री सहज रूपमा पुर्याउन सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए। साथै, क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि समेत सरकारले आवश्यक पहल गरिरहेको बताएका थिए।
तपाईको प्रतिक्रिया