आइतबार ३ श्रावण २०८३
समाज

अविरल वर्षाले ६ मुख्य राजमार्ग अवरुद्ध

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

काठमाडौं। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो खस्दा ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएपछि प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग र कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोरमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।

उता, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले नदी–खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया