आइतबार ३ श्रावण २०८३
अर्थ

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

काठमाडौँ । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको जनाएको छ।

विभागका अनुसार समीक्षा अवधिमा ‘अटोमेटिक रुट’मार्फत ८९७ परियोजनाका लागि रु नौ अर्ब ५८ करोड तथा ‘अप्रुभ्ड रुट’मार्फत २१९ परियोजनाका लागि रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता कृषिक्षेत्रमा आएको छ। उक्त अवधिमा १८ कृषिमूलक परियोजनाका लागि रु २३ अर्ब १८ करोड बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ।

पर्यटन क्षेत्रतर्फ २२७ परियोजनामा रु १३ अर्ब ९९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने ऊर्जा क्षेत्रमा चार परियोजनाका लागि रु सात अर्ब १६ करोड बराबरको लगानी स्वीकृत भएको छ।

त्यसैगरी उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन अर्ब ९१ करोड बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

सूचनाप्रविधि (आईटी) क्षेत्रमा भने सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भए पनि लगानी प्रतिबद्धता रु दुई अर्ब ८३ करोड बराबर रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया