देशभर भारी वर्षाको सम्भावना, यी २३ जिल्लामा रातको समयमा सवारी चलाउन रोक
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। त्यस्तै, मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।
संभावित वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेषगरी रातिको समयमा यात्रा नगर्न नागरिकलाई सुझाव दिइएको छ।
जोखिमको अवस्थालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ अति जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। ती जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। आवश्यक परे अन्य समयमा पनि सवारी आवागमनमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणले जनाएको छ।
विपद् व्यवस्थापनको तयारीस्वरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्ग क्षेत्रमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ। जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्नेहरूलाई थप सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
आपत्कालीन अवस्थामा सहायता तथा जानकारीका लागि वर्षा र बाढीसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। साथै, मौसमसम्बन्धी पछिल्ला सूचना र चेतावनी आधिकारिक माध्यमबाट नियमित रूपमा हेर्न पनि नागरिकलाई आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया