इरानमा इजरायल कारवाही, सुरक्षा प्रमुख लारिजानी मारिएको दाबी
काठमाडौं । इजरायलले इरानमा कारवाही गर्दै सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ।
इजरायली रक्षामन्त्री इजरायल कट्जले लारिजानी मारिएको बताएका हुन्। यसबारे इरानी पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सन् १९५८ मा इराकको नजफमा जन्मेका लारिजानी इरानी राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे। उनी इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छन्।
लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए। सन् १९७९ को क्रान्तिपछि उनी इरानी रिभल्युसनरी गार्ड (आईआरजीसी) मा आबद्ध भए। पछि उनी संस्कृतिमन्त्री तथा सरकारी सञ्चारमाध्यमको प्रमुख पनि बने।
सन् २००५ मा उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र इरानको मुख्य परमाणु वार्ताकार बने। त्यसपछि उनी लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुख रहे।
सन् २०१५ को परमाणु सम्झौता कार्यान्वयनमा लारिजानीले महत्वपूर्ण भूमिका खेलेका थिए। अमेरिका र इजरायलसँगको बढ्दो तनावबीच उनी इरानको रणनीतिक योजनाकारका रूपमा सक्रिय थिए।
तपाईको प्रतिक्रिया