ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने श्रीराम ग्यास उद्योगलाई ३ लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ठूलो परिमाणमा ग्यास भण्डारण गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार सोमबार गरिएको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित उद्योगको गोदाममा १४.२ केजीका ६ हजार ३७७ ग्यास सिलिन्डर भण्डारण गरिएको अवस्थामा फेला परेको थियो। विभागले उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (छ) विपरीत भएको ठहर गरेको जनाएको छ।
सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) अनुसार उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ। साथै गोदाममा रहेको ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ।
विभागले ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सबै ग्यास उद्योग र वितरकलाई सचेत गराएको छ। साथै ७.१ केजी ग्यास वितरण नीति लागू भएसँगै बजारमा ग्यास आपूर्ति क्रमशः सहज बन्दै गएको जनाएको छ।
तपाईको प्रतिक्रिया