नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सका पूर्व अध्यक्ष श्रेष्ठ पक्राउ
२२ करोडभन्दा बढी जरिवाना र ६ वर्ष कैद सजाय पाएका श्रेष्ठ फरार प्रतिवादी हुन
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा छ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उनी नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष हुन्। श्रेष्ठ काठमाडौँ महानगरपालिका–२४ वटु घर भई हाल नागार्जुन नगरपालिका–५ सीतापाइला बस्दै आएका थिए।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार श्रेष्ठले उक्त वित्तीय संस्थासँग सम्बद्ध रही निक्षेपकर्ता तथा संस्थाको हित विपरीत हुने गरी अनियमित र गैरकानुनी गतिविधि गरेको ठहर भएको थियो।
यस प्रकरणमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला गर्दै श्रेष्ठलाई दुई अलग मुद्दामा सजाय सुनाएको थियो। अदालतले पहिलो मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना र तीन वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना र तीन वर्ष कैद सजाय तोकेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
तपाईको प्रतिक्रिया