विजयादशमीका दिन देशभर मौसम सफा रहने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमीमा देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका धेरैजसो भूभागमा घमाइलो मौसम रहने पूर्वानुमान गरेको हो।
महाशाखाका अनुसार आज महानवमीका दिन पनि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लागे पनि दिन चढ्दै जाँदा क्रमशः हट्ने र मौसम खुल्दै जाने अनुमान गरिएको छ।
त्यसैगरी, हिमाली तथा पहाडी भूभागका केही स्थानमा बिहान आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार बुधबार विजयादशमीका दिन पनि देशभर मौसम अनुकूल रहनेछ। विशेषगरी टीका तथा जमरा ग्रहण गर्न आफन्त र मान्यजनको घरमा आवतजावत गर्नेहरूका लागि मौसम सामान्यतया सहज रहने अनुमान गरिएको छ।
बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ।
देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले स्थानीय मौसमको अवस्थाअनुसार सावधानी अपनाउनुपर्ने देखिएको छ।
यसअघि मौसम पूर्वानुमान महाशाखाले दसैँलाई लक्षित गरी जारी गरेको विशेष मौसम बुलेटिनमा समेत विजयादशमीका दिन देशका अधिकांश स्थानमा मौसम सफा र घमाइलो रहने उल्लेख गरेको थियो।
तपाईको प्रतिक्रिया