बुधबार २० जेठ २०८३
खेलकुद

नेपाल एसियन गेम्सका निम्ति छनोट

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा मंगलबार सम्पन्न खेलमा चीनले दिएको ८५ रनको सामान्य लक्ष्य मलेसियाले केवल ७.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो। मलेसियाका कप्तान मोहम्मद हाजिक आइमानले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले भने अस्लाम खानले १८ रन योगदान दिए। मोहम्मद अक्रम १० रनमा अविजित रहे।

चीनका लागि टियान सिन क्वानले एक मात्र विकेट हात पारे। यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। टोलीका लागि शेनजियान झेङले सर्वाधिक २९ रन बनाए भने याङ वाङ्जीले १८ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

बलिङतर्फ मलेसियाका विजयी उन्नी चम्किए। उनले चार विकेट लिँदा पवनदीप सिंहले दुई तथा सायद अजिज र वीरनदीप सिंहले समान एक–एक विकेट लिए।

यो जितसँगै मलेसिया र नेपाल दुवैले समान दुई अंकसहित सेमिफाइनलमा स्थान बनाएका छन्। छनोट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीहरू जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट हुने प्रावधान छ।

अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया आमनेसामने हुनेछन्। उक्त खेलले समूह विजेताको टुंगो लगाउनेछ।

तपाईको प्रतिक्रिया