बुधबार २० जेठ २०८३
बिश्वो

इरान–अमेरिका वार्तामा सकारात्मक संकेत, पाकिस्तानी सेना प्रमुख पुगे तेहरान

शनिबार जेठ ९, २०८३/ Saturday 05-23-26

काठमाडौँ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी Tehran पुगेका छन्। पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मुनीर हिजो तेहरान पुगेका हुन्।

तेहरान भ्रमणका क्रममा उनले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति र मध्यपूर्वको पछिल्लो अवस्थाबारे उच्चस्तरीय छलफल गर्ने बताइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले पनि मुनीरसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै इरानसँग चाँडै कुनै समझदारी हुन सक्ने आशा व्यक्त गरेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको बताएका छन्। तर, इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति जुट्न सकेको छैन।

अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको उल्लेख गरेका छन्।

युद्ध र तनावका कारण विश्व अर्थतन्त्रमा गम्भीर असर देखिन थालेको छ। तेल आपूर्तिमा अवरोध आएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ भने इरानको तेल निर्यात लगभग ठप्प बनेको छ।

यसका साथै अमेरिका र युरोपमा मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ। खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन क्षेत्र प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता समेत बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन्।

 

तपाईको प्रतिक्रिया