शनिबार ५ जेठ २०८१
जीवनशैली

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24

बाजुरा । जिल्लामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ।  जंगली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने  खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। 

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको भए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा समेत खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए। 

जथाभावी रुपमा छोडिएका कुकुर र जङ्गली जनावर स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको ओप लगाउन आउने गरेका भए पनि खोप नभएपछि अन्य जिल्लामा पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत चन्दले बताए।

जिल्लामा रहेका जिल्ला अस्पताल बाजुरा, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप नभएको पाइएको छ। खोप अभावका कारण बिरामीले लगाउनुुपर्ने समय खोप पाउन सकेका छैनन्। 

अन्य खोपको लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खरिद गर्दा समस्या हुने गरेको हो। एक मिलिलिटरको खोप ‘भाइल’ पाँचजनालाई लगाउनुपर्ने हुँदा एक जना मात्र आए पनि चार मात्रा खेर जाने भएकाले रेबिजविरुद्धको खोप अभाव हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। 

यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप नभएको स्वास्थ्यकर्मीले बताएका छन्। कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा रेबिजविरुद्ध लगाइने खोपको अभाव भएको हो। स्वास्थ्य केन्द्र कोल्टीमा एक सातादेखि खोप अभाव भएको स्वास्थ्यकर्मीले बताए। 

प्रमुख जनस्वास्थ्य अधिकृत चन्दले रेबिजविरुद्धको खोप खरिदका लागि प्रदेशसँग माग गरेको बताए। खोप खरिदका लागि प्रदेशले पनि केन्द्रमा माग गरेको र वैशाख मसान्तभित्र खोप जिल्लामा आइपुग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया